सरकारले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन लक्षित प्रभावकारी योजना र कार्यन्यवनमा जोड दिएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने बताएको समितीले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी सम्पर्क हुने वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको छ ।
निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी , निर्वाचन सम्बन्धी सही, भरपर्दो सूचनामा सर्वसाधारणको पहुँच , सामाजिक सञ्जालको दुरूपयोग रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई सशक्त र जिम्मेवार बनाइने भएको छ ।
गृह मन्त्रालयका अनुसार निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याउने, पेट्रोलियम पदार्थको खुला खरिद बिक्री एवम दुरूपयोगलाई नियन्त्रण लगायतका अति महत्वपूर्ण विषयमाथि निर्णय भएका छन् ।



