आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल–भारत सीमानाका नाकाहरु बन्द गरिने भएको छ । मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले निर्वाचनको २ दिन पहिलेबाट नै अर्थात ४८ घण्टा अगावै नेपाल–भारत सीमानाका नाकाहरु बन्द गर्ने निर्णय गरेको हो ।
सीमाक्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्याङ्कन गर्ने, शरणार्थी र आप्रवासीहरूको गतिविधिमाथि निगरानी राख्ने, विभिन्न तह बनाई नियमित जाँच गर्न दुवै पक्षबीच सहमति भएको बैठकमा सीमास्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको जनाईएको छ ।
सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो देशका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको बैठकमा आपराधिक तत्वहरूबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमाक्षेत्रमा जाँडरक्सी विक्री वितरण र सेवनमा पूर्णतः बन्देज लगायत विषयहरूमा समेत छलफल भएको थियो ।



