अमेरिकामा गएराती भएकोे कार दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको ज्यान गएको छ । अमेरिकाको लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत नेपाली छात्र २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको ज्यान गएको हो ।
लुजियानाको स्थानीय समय अनुसार शनिबार राति करिव ९ बजे भएको यस दुर्घटनाबारे मृत्यु भएका विद्यार्थी अध्ययनरत युनिभर्सिटिले सामाजिक संजालमा पोष्ट गरेपछि घटना बाहिर आएको हो ।
भीषण वर्षाको क्रममा कार दुर्घटना हुँदा नेपाली विद्यार्थीको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएको यस दुर्घटनामा विद्यार्थी द्वय ओली र यादवको घटनास्थलमा नै मृत्यु भएको बताईएको छ ।
समाचारमा उल्लेख भए अनुसार कार राजन यादवले चलाएका थिए भने सो कारमा यादवसंगै ओली र अन्य दुईजना यात्रु सवार थिए । भारी बर्षाका कारण चलिरहेको कार अनियन्त्रित भै सडकबाट खसेर रुखमा ढोक्किएको थियो । त्यसपछि कारमा आगो लागेको थियो ।
सो कारमा रहेका अन्य दुई यात्रुलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।
यस विषयमा लुइसियाना टेक युनिभर्सिटीले विज्ञप्ति जारी गरी क्षतिप्रति दुःख व्यक्त गरेको छ।