बलराम थापा \ शिनओकुबो
गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५-२०२७ कार्यकालका लागि युवा व्यवसायी तथा समाजसेवी सुभाष लामिछानेले एनआरएनए जापानको आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी लामिछानेले मिति २०२५ जुलाई १२ (शनिबार) को दिन उम्मेदवारी घोषणा कार्यक्रम टोकियोमा सम्पन्न गरेका छन् सुभाष लामिछानेको उम्मेदवारी घोषणा सभा र उहां बाट ब्यक्तभएका आफ्ना प्रतिबद्वताहरू जस्ताको तस्तै यहां प्रस्तुत गरिएको छ ।
गैरआवासीय नेपाली संघ जापानको १२औं महाधिवेशन – २०२५
प्रतिबद्धता-पत्र
एनआरएनए अभियानका क्रममा विगतका कार्यकाल तपाईको साथ र सहयोगप्रति आभार व्यक्त गर्दछु।
नैतिक, इमानन्दारीता र स्वाधिनता एनआरएनए जापानमा पारदर्शिता सहित अध्यक्षमा मेरो उम्मेदवारी सार्वजनिकरण कार्यक्रममा उपस्थित आदरणीय आमाबुबा, दाजुभाई, दिदीबहिनी, सञ्चारकर्मी मित्रहरु एवम् शुभचिन्तक सम्पूर्णमा हार्दिक नमस्कार, म सुभाष लामिछाने ।
मातृभूमि तथा कर्मभूमिमा दैवी प्रकोप (भूकम्प, बाढी-पहिरो, आगलागि लगायत) आकस्मिक घटना दुर्घटना एवं विभिन्न समस्या तथा चपेटामा परेका नेपाल र नेपालीका लागि सहयोग गर्ने हरेक स्वदेश तथा विदेशमा रहेका संस्था, सहयोगदाता, एनआरएनए जापान, जापान सरकार लगायतलाई सर्वप्रथम हार्दिक आभार प्रकट गर्न चाहन्छु।
हाम्रा अग्रजहरुको अथक प्रयास र समर्पणले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बनेको छ। “नेपालीका लागि नेपाली” भन्ने मूल मन्त्र बोकेर आफ्नो स्थापनाको दुई दशक पूरा गर्दा एनआरएनएले आफूलाई बृहत बनाउँदै लगेको छ। सन् २००३ मा स्थापना भएको एनआरएनए जापानमा २००४ मा स्थापना भएको हो। स्थापनाको २१ वर्षको अवधिमै जापानका विभिन्न १२ वटा क्षेत्रिय समन्वय परिषद् मार्फत औपचारिक सञ्जालको विस्तार गरेर जापानमा बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको छ। विश्वभर नै नवीतम सन्देश दिन सफल यस एनआरएनएमा गैरआवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउन तागत भएको व्यक्तिले मात्र गैरआवासीय नेपाली सघं जापानलाई थप उचाई दिन सक्दो रहेछ भन्ने मानक यस कार्यकालमा स्थापित भैसकेकोले सोहि मानकको निरन्तरतालाई कायम राख्दै एनआरएनए जापानको छवि र समग्र एनआरएन अभियानलाई क्रियाशिल बनाउनका लागि २०२५-२०२७ कार्यकालको अध्यक्षमा म र मेरो नेतृत्व समेतको उम्मेदवारी घोषणा गरेको छु।
रासप जापानको ११औं महाधिवेशनबाट नविन निउरेको नेतृत्वको कार्यसमितिले यस कार्यकालमा महत्वपूर्ण कार्यहरु सम्पन्न गरेको छ। गैरआवासीय नेपाली संघ जापानको नेतृत्वमा एकिकृत नेपाली घरः बहुसाँस्कृतिक केन्द्र निर्माण गर्ने प्रक्रियाको सुरुवात भएको छ। जापानबासी नेपालीहरुका लागि प्रत्यक्ष सम्बन्ध राखी लाभ पुर्याई प्रत्यक्ष सहयोग पुर्याउने गरि नेपाली राजदूतावास, जापानले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानको सहकार्य एवं क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा मेरो संयोजकत्वमा जापानका ११ स्थानमा १४ वटा घुम्ती सेवामार्फत् कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम गरि प्रत्यक्ष रुपमा ७ हजार २ सय जना लाभान्वित भएका छन् भने अप्रत्यक्ष रुपमा एनआरएनए जापानलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिर्वतन आएको छ। यसको ज्वलन्त उदाहरण यस्तो विषम परिस्थतिमा पनि एनआरएनएको सदस्यता लिनेको संख्या विश्वमै जापान पहिलो बन्न पुग्रुले प्रष्ट पारेको छ।
एनआरएनए जापानले जापानमा रहँदा नेपालीलाई परेका समस्या अप्ठ्यारा र सूचना जानकारी आदानप्रदानको सहजताका लागि उपयोग हुने गरि हटलाइन टेलिफोन सेवा संचालनमा ल्याएको छ। जसका लागि मैले नै व्यवस्थापकीय र आर्थिक सहयोग गर्दै आएको छु। यसबाट भाषा, भैपरी आउने मानवीय सहयोग, दैनिक जीवनमा परेका समस्याको सुनुवाई र कार्यान्वयनका लागि सहज भएको छ।
गैरआवासीय नेपाली संघ जापानले नेपालमा गएको विनाशकारी भूकम्पबाट पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ ‘भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष’ का लागि संकलित २३ लाख जापानी येन रकम हस्तान्तरण गरेको छ। यस कार्यका लागि मैले नै संयोजन गरेको थिए। यो कोष आइसीसीको ‘समन्वय र परामर्शमा ‘एक एनसीसी एक कार्यक्रम’ अन्तरगत कार्यान्वयनमा गैसकेको छ।
जापानको अध्ययन तथा रोजगारीका क्षेत्रहरुसंग सम्बन्धित विभिन्न विज्ञहरु सम्मिलित सेमिनारहरु आयोजना गरि, विद्यार्थी तथा पढाई सकेर रोजगारीका खोजीमा रहेका नेपाली विद्यार्थीलाई स्युस्योकुका लागि विभिन्न जापानी विद्यालयहरुसँगको सहकार्यमा मेरो संयोजकत्वमा आवश्यक सहजीकरण गरिएको छ। त्यस्तै जापानी भाषा अध्ययन पश्चात सेन्मोन गाक्कोउ र दाइगाकु पाउनका लागि कठिनाई भोगिरहेका जापानमा रहेका नेपाली विद्यार्थीहरुलाई गाक्कोउ खोजीमा गुगल फारममार्फत जानकारी संकलन गरि विभिन्न जापानी विद्यालयहरुसँगको सहकार्यमा पनि मेरो संयोजकत्वमा आवश्यक सहजीकरण गरिएको छ।
जापानमा आउने एनआरएनएसँग संम्बद्ध, नेपाल सरकार स्थानीय सरकार, प्रदेश सरकार, विषय विज्ञ, विशिष्ठ व्यक्तित्व लगायतलाई संघको हित अनुकूल हुने गरि स्वागत् सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरि परस्परमा सम्पर्क सम्बन्धलाई प्रगाढ बनाई एनआरएनए जापानको गरिमालाई उँचो पार्दै जनस्तरमा नेपाली समुदायको आविभावकीय भूमिका प्रदान गर्ने गरि कार्यसम्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छु।
नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न एनआरएनए जापानले पूलको रुपमा भूमिका निर्वाह गर्दै नेपालको मौलिक कला, सँस्कृति, परम्परासहित पर्यटन क्षेत्रमा योगदान र प्रवर्द्धनका साथै नेपाल सरकार र जापानबासी नेपालीहरुका बीचमा समन्वयकारी रुपमा प्रभावकारी काम गर्ने सोच अनुरुप सञ्चालित १४ औं नेपाल फेस्टिवल-२०२४ को उप संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरि सकेको छु।
एनआरएनए जापानमा समन्वयकारी सहजकर्ताको भूमिका निर्वाह गरि संस्थाको साखमा कुहिरो लाग्न नदिनका लागि मेरो अथक प्रयास भै सार्थकता समेत प्राप्त भएर संस्था आजको यस गरिमामा आइपुगेको मैले यस अवसरमा निवेदन गर्न चाहन्छु। सामाजिक संस्था अविछिन्न उत्तराधिकारवाला हुने भन्ने सर्वमान्य मान्यतालाई आत्मसात गर्दै एनआरएनए जापानको कार्यकाल २०२३-२०२५ को कार्यसमितिले अघि सारेका उपयुक्त योजनालाई निरन्तरता दिदै अधुरा र अपुरा योजनाहरुलाई सरोकारवाला सम्पूर्णको साथ सहयोग र सहकार्यमा पूरा गर्ने प्रतिवद्धता गर्दछु।
गैरआवासीय नेपाली संघ जापानको नेतृत्वमा एकिकृत नेपाली घरः बहुसाँस्कृतिक केन्द्र निर्माण तथा सञ्चालन, सामाजिक मेलमिलाप तथा सहयोग, जापान प्रवेश गर्ने नेपालीलाई नेपाल सरकारद्वारा नेपालमा नै एनआरएनए जापानको बृहत्तर संस्थागत विकासका लागि दोस्राको पुस्ताको सक्रिय सहभागिता, महिला र युवाको संलग्नता, विद्यार्थी केन्द्रित कार्यक्रम, अग्रजको सम्मान, पेशागत एवं व्यवसायिक विकासमा समन्वय, नेपाली संस्कृतिको जगेर्ना र समावेशिता जस्ता विषयमा एनआरएनए जापानमा मुख्य सुधार गर्न सक्ने प्रस्तावित कार्यक्रमको बारेमा स्पष्ट योजना सहित आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु।
अग्रजहरुको समर्पण, मैत्रीभाव र कार्य कुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको हुँदा त्यो अनुभवलाई समेत संस्थाको उँचाइ वृद्धिमा लगाउनु मेरो कर्तव्य ठानेको छु। त्यसकारण यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा रहेर सामना गर्न सक्छु भन्ने विश्वास लिएको छु।
संस्थालाई नेपालको राजनैतिक विचारको प्रत्यक्ष प्रभावबाट मुक्त गरि जापान जस्तो देशमा सभ्य र सुसंस्कृत एवं एकताबद्ध नेपाली समाजको निर्माणका लागि भूमिका खेल्नु हामी सवैको दायित्व हो। तसर्थ यहाँहरुको माया ममता सहयोग र सद्भावका कारण २०२१-२०२३ एनआरएनए जापानको प्रवक्ताको रुपमा यस अभियानमा समाहित हुँदै २०२३-२०२५ मा यहाँहरुको अमूल्य मतबाट उपाध्यक्षमा रहेर कुशलतापूर्वक कार्य गर्दै आइरहेको छु र आगामी दिनमा समेत गर्ने नै छु। नेपालदेखि नै सामाजिक सेवामा कार्यमा सक्रिय रहदै आएको यहाँहरु समक्ष निवेदन गर्दै पर्वत समाज जापानको विभिन्न पदमा कार्य गरि हाल नेतृत्व समेत गरिरहेको छु। सामाजिक सेवाका साथमा मनोरञ्जनमार्फत समाजसँग नजिकिनका लागि जापानमा नेपाली कथानक चलचित्र प्रर्दशनमा संयोजनकारी भूमिका समेत निर्वाह गरिरहेको छु। विगतदेखि नै एनआरएनएको अभियानमा नजिक रहेर काम गर्दै आइरहेकोले आगामी दिनमा संघलाई नेतृत्व दिन आफू सक्षम रहेकोले साथ र सहयोगका लागि सविनय अनुरोध गर्दछु।
गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनमा हामीले गरेको प्रतिवद्धता अनुरुप अघि सारेको मेगा परियोजनाका रुपमा रहेको ‘एकिकृत नेपाली घरः बहुसाँस्कृतिक केन्द्र’ निर्माण तथा सञ्चालन, संघको पुर्नरसंरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शिता, लगायतका कार्यको जग स्थापना भइसकेको छ। साथै संघको पुर्नसंरचनाका लागि सुरुवात भएका नविनतम कार्यलाई संस्थागत गर्न चुनौतीहरु थपिएका छन्।
एनआरएनएको अभियानमा देखिएका कयौँ अवसर र चुनौतीका बीच एनआरएन अभियान्ताहरुसँगको अन्तरक्रिया पछि १२औं महाधिवेशनमा गैरआवासीय नेपाली संघ जापानको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ।
अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन। मैले त तपाई हाम्रा लागि काम गर्नका लागि जिम्मेवारी लिन खोजेको मात्र हूँ। त्यसैले, मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु। ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो प्रतिवद्धता-पत्र सार्वजनिक गरेको छु।
अध्यक्षमा निर्वाचित भएपछि मैले गरेको आफ्नो बाचा पूरा गर्नु पर्दछ। त्यसैले, यसलाई मैले प्रतिवद्धता-पत्रको नाम दिएको छु।
आगामी कार्यकालका लागि निम्नानुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
१. संघ संस्थासँग समन्वयात्मक सहकार्य तथा मानवीय सहयोग जापानमा क्रियाशील संघ सस्थासँग एनआरएनए जापानले समन्वयात्मक सहकार्य र संरचनागत रुपमा कार्य गर्ने संयन्त्रका विकास गरि दोहोरो भूमिकाको अन्त्य गर्ने र समन्वयकारी रुपमा कार्य गर्ने प्रणालीको विकास गर्ने, जापानमा रहेका नेपालीहरु माझ आइपर्ने समस्या र त्यसको समाधानका लागि उपयुक्त संयन्त्रको विकास गर्ने सोचका साथ निम्नानुसारको कार्य गरिने छ।
क) जापानबासी नेपालीको सुरक्षा र सहयोगका लागि नेपाली राजदूतावासको अविभावकीय सहकार्यमा जापानस्थित सामाजिक संघ सस्थाको अपनत्व महसुश हुने गरि समन्वय र सहकार्य गर्दै सामाजिक समस्या न्यूनिकरणका क्रियाकलापहरु संचालन गरिने छ।
ख) नेपाली राजदूतावास, एनआरएनए जापान, सामाजिक संघ-संस्था र समाजसंग जापानमा रहेका नेपालीहरुलाई केन्द्रित गरि सहयोग र सेवा प्रदान गर्न एकरुपता ल्याउने उद्देश्यले साझा योजना तय गर्नका लागि मौजुदा कार्यसमितिले कार्य प्रारम्भ गरि वृहत छलफललाई निरन्तरता दिई एक संयन्त्रको गठन गरिने छ र सो संयन्त्रले दिएको सुझावलाई आधार मानेर योजना निर्माण गरि कार्यसम्पादन गरिनेछ।
ग) प्रवासमा बस्ने अनि नेपाललाई माया गर्ने र नेपाली कला संस्कृति, मौलिक परम्परा, धार्मिक आस्थालाई प्रवासमा बचाइ राखी आउने पुस्तालाई हस्तान्तरण गराउन हामी सबैको साझा योगदानमार्फत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको नेतृत्वमा निर्माण हुन लागेको ‘ड्रिम प्रोजेक्ट’ को रुपमा अगाडि बढेको ‘एकीकृत नेपाली घरः बहुसाँस्कृतिक केन्द्र’ निर्माणका लागि आवश्यक सम्पूर्ण कार्य गरिनेछ।
घ) जापान स्थित नेपाली राजदूतावासबाट प्रदान गरिने सेवालाई जापानवासी नेपालीले सरल सहज रुपमा पाउने व्यवस्थाका लागि विगतका अनुभव र सिकाइलाई आत्मसात गर्दै समन्वयात्मक रुपमा कार्य गर्नका लागि एनआरएनए जापान र दूतावासबीच एक संयन्त्रको गठन गरि सोहि बमोजिम गर्ने गरि कार्य गरिने छ।
ङ) नेपाल सरकारको नागरिकहरुलाई प्रदान गरिने सेवालाई सहज पहुँच योग्य र प्रभावकारी बनाउने उद्देश्य अनुरुप जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई प्रत्यक्ष लाभान्वित हुने सेवाका रुपमा रहेको घुम्ती सेवामार्फत् राहदानी नविकरण तथा आवेदन तथा कन्सुलर सम्बन्धि कार्य गर्ने गरि जापानका लागि नेपाली राजदूतावासको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान सहकार्य एवं क्षेत्रीय समन्वय परिषद्हरुको स्थानीय व्यवस्थापनमा गरिदै आएको घुम्ती सेवालाई अझ व्यवस्थित र प्रभावकारी रुपमा निरन्तरता दिईने छ।
च) जापानमा रहँदा नेपालीलाई परेका समस्या अप्ठ्यारा र सूचना जानकारी आदानप्रदानको सहजताका लागि उपयोग हुने गरि सञ्चालनमा रहेको हटलाइन टेलिफोन सेवालाई भाषा, भैपरी आउने मानवीय सहयोग, दैनिक जीवनमा परेका समस्याको सुनवाई र कार्यान्वयनका लागि सहयोग पुर्याउने गरि व्यवस्थित रुपमा सञ्चालनलाई निरन्तरता दिईनेछ।
छ) गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले आफ्नो २०१७-२०१९ कार्यकालदेखि सुरुवात गरेको “वृहत रक्तदान कार्यक्रम” लाई जापान स्थित समाजिक संघ सस्था सरोकारवाला निकायहरुसँगको सहकार्यमा सबैको अपनत्व रहनेगरि निरन्तरता दिईनेछ।
ज) आकस्मिक दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरुको पार्थिव शरिर अन्त्येष्टिमा आवश्यक सहयोग गर्ने, साथै नेपालमा लैजानका लगि लाग्ने आर्थिक खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने नीतिगत व्यवस्था गर्न पहल गरिनेछ। साथै विद्यार्थीको हकमा नेपालबाट आउँदा नै अनिवार्य रुपमा बीमा गर्न अभिप्रेरित गर्नेगरि अभिमूखिकरण कार्यक्रम सञ्चालन गरिनेछ।
झ) एनआरएनए जापानको नेतृत्वमा सम्पूर्ण क्षेत्रीय समन्वय परिषद् सदस्य रहने गरि एक सामाजिक मेलमिलाप तथा सहयोग विभाग वा एनआरएनए हेल्प डेस्कको गठन गरि उक्त विभागलाई चलायमान बनाई नियमित रुपमा आइरहने सामाजिक समस्या, घरेलु हिंसा सम्बन्धि समस्या लेनदेनका समस्या लगायतका समस्याको समाधान र न्यूनीकरणका लागि आवश्यक पैरवीको कार्य गरिने छ।
ञ) जापान पठाउने कन्सल्टेन्सी, विभिन्न भिषामा जापान पठाउने संस्था, मेनपावर लगायतलाई उक्त भिषामा जापान आउन तोकिए बमोजिम भए नभएको, सही सूचना प्रदान गरे नगरेको लगायत सम्पूर्ण कुरा हेर्ने गरि नेपालको सरकारी निकायमार्फत प्रभावकारी नियमन तथा अनुगमन गर्ने व्यवस्था मिलाउन सरोकारवाला निकायमा पहल गरिने छ।
ट) जापानमा वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, सरोकारवाला निकाय, कूटनीतिक नियोग, राजदूतावास लगायतसँग सहकार्य गरिने छ।
ठ) विदेशमा रहँदा हासिल गरेको ज्ञान, सिप, पूँजी, अनुभव र दक्षतालाई मातृभूमि लैजान एनआरएनएले अझ महत्वपूर्ण भूमिका निर्वाह गरिनुपर्ने लगायतका क्रियाकलापलाई मुख्य केन्द्रमा राखेर सचेतिकरण कार्य गर्ने कार्ययोजना तर्जुमा गरिने छ।
ड) जापानमा रोजगार तथा स्वरोजगारमा रहेकालाई सामाजिक सुरक्षा कोषको योजनामा सहभागी हुन सूचनामूलक कार्यक्रम गरिने छ। साथै वदेशमा बस्ने नेपालीको मताधिकारको अधिकार सुनिश्चितका लागि आइसीसीसँगको समन्वयमा आवश्यक कार्य गरिने छ।
ढ) दुर्घटना तथा बिभिन्न आपतकालिन समस्यामा परेका नेपालीहरुलाई सहयोग हुने गरि “एनआरएनए आपतकालिन राहत कोष” को प्रभावकारी कार्यान्वयन गरिनेछ ।
२) संस्थागत विकास एवम् सुदृढिकरण जापानवासी नेपालीहरुमा रहेको एनआरएनएप्रतिको आस्था र भरोसालाई कायम राखी सबैलाई अपनत्व महशुस हुने गरी एनआरएन जापानलाई जनस्तरमा स्थापित गराइ संस्थागत रुपमा संचालन गर्नका लागि प्रणालीको विकास गरिनेछ।
क) गैरआवासीय नेपाली संघ रासप जापानको विस्तार, सुदृढ़ीकरण र संस्थागत विकासमा योजनावद्द कार्ययोजना बनाई कार्यान्वयन गर्न सहयोग गरिनेछ।
ख) जापान र विश्वभर रहेका नेपालीहरुमा एकता, सहमति र सहकार्यमा कार्य गरि एनआरएनएको गुमेको प्रतिष्ठालाई पुर्नस्थापित गराई सबैले विश्वास गर्ने र सबैको अपनत्व हुने साझा संस्थाको रुपमा विकास गराउन प्रमुख कार्यभारको रुपमा लिइ सोहि अनुरुप कार्य गरिनेछ।
ग) एनआरएनए जापानलाई संस्थागत रुपमा सबैको सहभागिता र भूमिका सहितको बनाई रासपको प्रशासनिक कार्यलाई चुस्त र अझ व्यवस्थित बनाउनका लागि विगतदेखि उठ्दै आएको ‘कार्यालय सचिव’को व्यवस्था गरि एनआरएनए जापानको सचिवालय कर्मचारी र एकिकृत नेपाली घर निर्माण तथा सञ्चालनका लागि उक्त जनशक्तिको परिचालन गरिनेछ।
घ) एनआरएनए जापानको वेवसाइटलाई प्रभावकारी बनाई सूचना जानकारी प्रकाशन, साथै एनआरएनए जापानलाई स्मार्ट एनआरएनए बनाउनका लागि यससंग सम्बन्धित कार्य (वेवसाइट, सामाजिक संजाल, सदस्यको अभिलेखीकरण, नियमित लेखा व्यवस्थापन, आन्तरिक सञ्चार व्यवस्थापन, सूचना प्रविधि लगायत) लाई व्यवस्थित प्रभावकारी बनाउदै सूचना, सञ्चार, प्रकाशन, संस्कृति, सम्पदा, साहित्य तथा पुरस्कार, न्यूजलेटर प्रकाशन, कार्यसमितिको मासिक प्रतिवेदन प्रकाशन गरिनेको छ। यस्तै, रासपको वेवसाइट, फेससबुक लगायत सामाजिक सञ्जालको प्रभावकारी परिचालन गरिनेछ। पछिल्लो प्रविधिमा आधारित एआई च्याटबटको निर्माण गरि जापानबासी नेपालीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु लिन सहज हुने व्यवस्था मिलाइनेछ।
ङ) एनआरएनए जापानसंग रहेका मौजूदा विधान कार्यबिधि नियमावली आचारसंहितालाई पूर्ण रुपमा पालना गर्दै आर्थिक नियमावली बनाई आर्थिक गतिविधि सञ्चालन गरिने छ। निर्वाचन कार्यविधि तयार पारी रासप र क्षेसपमा हुने अधिवेशन र निर्वाचनमा एकरुपता ल्याइने छ। मौजुदा विधान नियमावली समयानुकूल परिमार्जित र आवश्यक संशोधन गरिने छ।
च) क्षेत्रीय समन्वय परिषद्लाई जापानमा रहेका नेपालीहरुको नजिकको साथीको रुपमा बुझाई कायम गराउन सहज पहुंच हुने गरि क्षेसपलाई क्रियाशील बनाईने छ। यस कार्यकालदेखि सुरुवात गरिएको ‘एक एनआरएनए क्षेसप, एक प्रभावकारी कार्यक्रम’ अभियानकै रुपमा संचालन गरिने छ।
छ) हाल सचालनमा रहेको “जापानमा रहँदा जान्नै पर्ने कुरा” कार्यक्रमको प्रभावकारिता राम्रो देखिएकाले यसलाई निरन्तरता दिई, यसको व्यवस्थापकीय संयोजनकारी जिम्मेवारी क्षेत्रीय समन्वय परिषद्लाई समेत प्रदान गरिने छ।
ज) एनसीसीमा देखिएका सदस्यता वितरण र निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउन सम्पूर्ण सरोकारवाला निकायहरुसंगको राय सल्लाह र सुझावका आधारमा एक छुट्टै कार्यदल बनाएर सो कार्यदलले दिएको सुझावका आधारमा आवश्यक कार्य गरिनेछ।
झ) आईसीसीको निर्वाचनका प्रतिनिधि छनोटलाई पारदर्शी र थप वैज्ञानिक बनाई पूर्णत विधान बमोजिम गरिनेछ।
ञ) एनआरएनए जापानका कार्यक्रम संचालनका लागि वार्षिक क्यालेन्डर स्थापना गरि व्यवस्थित रुपमा संचालन गरिने छ।
ट) एनआरएनए जापानको लेखा तथा अभिलेख व्यवस्थापनका लागि डाटावेसमा रहने गरि आर्थिक गतिविधि सञ्चालन गरिनेछ। आर्थिक अनियमितताको प्रश्न नआउनेगरि प्रत्येक तिन-तिन महिनामा कोषको डेटा सार्वजनिक गरिनेछ। आर्थिक मितव्यायितालाई पहिलो प्राथमिकता दिईनेछ भने कोषको अभिवृद्धिका लागि सम्भावनाको अध्ययन गरि क्लाउड फण्डिङ, विभिन्न सरोकावाला निकायसंगको समन्वय र सहकार्यका विभिन्न योजना संचालन गरिने छ।
ठ) आईसीसीबाट निर्देशित कार्यक्रमहरु र एनसिसिले तय गरेका कार्यक्रमहरुलाई थप सशक्त ढंगले लागू गर्न र गराउनका निमित्त क्षेत्रीय समन्वय परिषद्हरुलाई समेत अपनत्व महशुस हुने गरि कार्ययोजना तयारीका लागि क्षेत्रीय भेलालाई उद्देश्यमूलक बनाई समग्र रासप र क्षेसपका दुईवर्षे योजना तर्जुमा गर्ने, कार्यविभाजन गर्ने सिकाई अनुभवहरु साटासाट गर्ने, अनुशिक्षणका लागि उपयुक्त थलोको रुपमा विकास गरिनेछ।
ड) गैरआवासीय नेपाली संघ र रासप जापानको विधान र यसले तय गरेका बाइलजहरु र कार्यसमितिका पदाधिकारीको काम कर्तव्य र जिम्मेबारीलाई सहज रुपमा बुझ्नका लागि सहयोग पुर्याउने र रासप जापानको रणनीतिक योजना तर्जुमा गर्नका लागि रासप स्तरमा एक ओटा र प्रत्येक क्षेसप स्तरमा एक-एक ओटा अनुशिक्षण कार्यक्रम संचालन गरिनेछ।
३) नेपालको पहिचान अभिवृद्धि र पर्यटन पर्वद्धन नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न एनआरएनए जापानले पूलको रुपमा भूमिका निर्वाह गर्दै नेपालको मौलिक कला, संस्कृति, परम्परासहित पर्यटन क्षेत्रमा योगदान र प्रवर्द्धनका साथै नेपाल सरकार र जापानबासी नेपालीहरुका बीचमा समन्वयकारी रुपमा प्रभावकारी काम गर्ने सोचका साथ कार्ययोजना तयार गरि कार्य गरिनेछ।
क) प्रवासमा हुर्कंदै गरेको दोश्रो र तेश्रो पुस्तालाई नेपालसंग जोड्ने, प्रवासमा नेपाली भाषा, संस्कृति र कलाको प्रवर्दनका लागि संस्थागत रुपमा पहल गरिनेछ।
ख) नेपाली समुदाय तथा जापानी समुदायका बिचमा साँस्कृतिक एवं धार्मिक गतिविधि आदान-प्रदानका कार्यक्रमहरुका साथै नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न पूलको रुपमा भूमिका निर्वाह गर्दै नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याउनका लागि राजदूतावाससंगको सहकार्यमा ‘नेपाल चिनाउने’ बुकलेट तयार गरिने छ।
ग) नेपालको पर्यटन प्रवर्द्धनका साथै नेपाल सरकार र जापानबासी नेपालीहरुका बीचमा पूलको रुपमा काम गर्न सहजताको लागि राष्ट्रिय समन्वय परिषद्बाट निर्वाचित अध्यक्षलाई सरकारको अवैतानिक दूतको रुपमा मान्यता दिन पहल गरिने छ।
घ) जापान सरकारले नेपाल र नेपालीका लागि गर्दै आएको साथ र सहयोगका लागि सदैव स्मरण गर्ने गरेको अनिभूति दिलाउने भावसहित नेपालको पर्यटन प्रर्वद्धनका लागि नेपालका पर्यटकीय क्षेत्रका बारेमा जानकारीमूलक सामग्रीहरु तयार गरि रासप तथा क्षेसपमार्फत विभिन्न जापानी निकाय, संघ सस्था, व्यवसायिक प्रतिष्ठानमार्फत जापानी समुदायमा जानकारी पुर्याउन योजनासहितका क्रियाकलाप संचालन गरिनेछ ।
ङ) विगतदेखि गरिदै आएको नेपाल फेस्टिवल रासपको संयोजनमा जापानस्थित विभिन्न समाजिक संघ सस्थासँगको सहकार्यमा समयानुकूल परिमार्जित गराई निरन्तरता दिईनेछ भने क्षेसपहरुलाई समेत सोहि मोडेलमा नेपाल फेस्टिवल गराउन आवश्यक सहजिकरण गरिनेछ।
च) नेपाललाई प्रवासमा पहिचान गराउनका लागि नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयसँग आवश्यक समन्यव गरि क्रियाकलाप गर्ने प्रयास गरिने छ।
४) सुरक्षित वैदेशिक रोजगार र सचेतनामूलक कार्यक्रम जापानको नियम कानून र यससंग सरोकार राख्ने विषयको बारेमा नेपाली समुदायलाई सहज र पहुँच योग्य जानकारी दिई अप्रिय घटना, दूर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने र सुरक्षित वैदेशिक रोजगारीका लागि सचेतनामूलक कार्यक्रम संचालन गरि सूसुचित गराउने सोचका साथ कार्य सम्पादन गरिनेछ।
क) जापानमा रहेका श्रमिकहरुको श्रम स्वीकृति अवधि समाप्ति पश्चात उक्त श्रम स्वीकृतिको नविकरण जापान स्थित नेपाली राजदूतावास मार्फत नै गर्ने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय लगायतका सरोकारवाला निकायहरुमा आवश्यक पहलकदमी गरिने छ।
ख) जापानको नियम कानून र यससंग सरोकार राख्ने विषयको बारेमा नेपाली समुदायलाई सहज र पहुँच योग्य जानकारी दिनका लागि सूचना तथा जानकारी दिने श्रव्य, दृश्य, प्रकाशन लगायतका सामग्री तयार गरि प्रचार-प्रसार गरिने छ।
ग) जापानमा रहेका विदेशी श्रमिकहरुलाई भाषा लगायतका सहयोग प्रदान गर्नका लागि ‘लेबर एन्ड सोसल सेक्युरिटी एटोर्नी कार्यालय’ले गरेको हटलाइनको व्यवस्थालाई एनआरएनए जापानले समन्वय र सहकार्य गर्दै श्रम समस्या सम्बन्धि निःशुल्क परामर्श प्रदान गरिने छ।
घ) अध्ययन तथा विभिन्न पेशा व्यवसायमा जापानमा रहेका नेपालीहरुमा निराशा बढ्दै गई आत्महत्याका घटना बढि रहेको सन्दर्भलाई एनआरएनए जापानमार्फत आत्मविश्वास बढाउने खालका सचेतना कार्यक्रम गरिनेछ। यसका लागि अभियानकै रुपमा मनोपरामर्श सम्बन्धिका सचेतनामूलक अनुशिक्षण १२ वटै क्षेत्रीय समन्वय परिषद्हरुमा सञ्चालन गरिने छ।
ङ) नेपालदेखि जापान आउने विद्यार्थी लगायत सम्पूर्ण नेपालीहरुलाई जापान आउनु अघि अनिवार्य जापानको बारेमा कानूनी, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सडक, लगायतका नीति नियम बारेमा जानकारी दिने गरी प्रभावकारी अभिमुखीकरण तालिम सञ्चालन गर्ने नीतिगत नियम बनाउनका लागि नेपाली राजदूतावासमार्फत र अन्य निकायमार्फत समेत आवश्यक पहल गरिने छ।
च) जापानमा हुने अप्रिय घटना, सडक दुर्घटना न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम गरिनेछ।
छ) विदेशमा कार्यरत नेपालीलाई विदेशको पसिनाको प्रतिफल नेपालमा पेन्सनको रुपमा प्रदान गर्न नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सूचना र सन्देशमूलक कार्यक्रम संचालन गरिने छ।
ज) जापानमा रहेका नेपालीहरुलाई विभिन्न किसिमका बिचौलियाको ठगीबाट जोगिनका लागि सूचना र सन्देशमूलक जानकारी प्रदान गरिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ।
झ) जापानमा कार्यरत विभिन्न पेशा (विषेशत कुक भिषाका पछिल्लो समय जापान आउनु भएका) तथा डिपेन्डेन्ट दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित जापानी भाषा कक्षा संञ्चालनका लागि क्षेसपसँगको समन्वयमा कार्य गर्ने साथै निःशुल्क जापानी भाषा कक्षा पढाइने जापानी संघ संस्थाका बारेमा सहि सूचना दिने व्यवस्था मिलाइने छ।
ञ) विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहित विदेशबाटै मताधिकार दिने गरि हालै निर्वाचन आयोगबाट प्रस्तावित मस्यौदालाई कानूनी रुप प्रदान गराउनका लागि एनआरएनए जापानबाट र सिंगों एनआरएनएमार्फत आवश्यक दबावमूलक कार्यक्रम गरिने छ।
ट) जापानमा रहेका नेपालीहरुमा बढ्दै गइरहेको विभिन्न प्रकारको तनाव व्यवस्थापनका लागि अभियानकै रुपमा ‘मनोपरामर्श अनुशिक्षण’ १२ वटै क्षेत्रीय समन्वय परिषद्हरुमा सञ्चालन गरिने छ।
५) महिला, विद्यार्थी, युवा तथा खेलकूद गतिविधि युवा वर्गलाई एनआरएनएप्रति चासो बढाउन युवा लक्षित खेलकूदसहितका कार्यक्रम गरि जापानमा रहेका महिलाको स्वाथ्य र मानोवैज्ञानिक परामर्शका लागि आवश्यक योजनाबद्ध कार्य गर्दै विद्यार्थीहरुको समस्या पहिचान र न्यूनिकरणको लागि आवश्यक सहजिकरणमा योजना तर्जुमा गरि क्रियाकलाप सञ्चालन गरिने छ।
क) नेपालदेखि जापान आउने विद्यार्थी लगायत सम्पूर्ण नेपालीहरुलाई जापान आउनु अघि अनिवार्य जापानको बारेमा कानूनी, सामाजिक, आर्थिक नीति नियम बारेमा जानकारी दिने गरी प्रभावकारी अभिमुखीकरण तालिम सञ्चालन गर्ने नीतिगत नियम बनाउनका लागि नेपाली राजदूतावास मार्फत र अन्य निकायमार्फत समेत आवश्यक पहल गरिने छ।
ख) जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि अध्ययन तथा रोजगारीका साथै अन्य विभिन्न किसिमका सूचना, अवसर तथा जानकारी प्रदान गर्नका लागि एक छुट्टै हेल्पडेस्क संचालन गरि सहयोग गर्ने प्रदान गरिने छ। यसमार्फत जापानमा रहँदा विद्यार्थीलाई आवश्यक पर्ने सहि सूचना र सक्दो सहयोग पुर्याउने प्रयत्न गरिने छ। साथै जापानको अध्ययन तथा रोजगारीका क्षेत्रहरुसंग सम्बन्धित विभिन्न विज्ञहरु सम्मिलित सेमिनारहरु आयोजना गरि, विद्यार्थी तथा पढाई सकेर रोजगारीका खोजीमा रहेका नेपालीहरुलाई आवश्यक सहजीकरण गरिने छ। गाक्कोउ सेचुमेइखाइ, जापानी भाषा अध्ययन पश्चात सेन्मोनगाक्कोउ र दाइगाकु पाउनका लागि कठिनाई भोगिरहनु भएका जापानमा रहेका नेपाली विद्यार्थीहरुमा गाक्कोउको खोजीमा सहजीकरण गरिने छ।
ग) एनआरएनए जापानले आइएनएचओ लगायतका संस्थाहरुसंग समझदारी (एमओयू) गरी उक्त संस्थाहरुबाट नेपाली विद्यार्थीहरुलाई प्रदान गरिदै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिईने छ र विद्यार्थीहरुले अहिले प्राप्त गरिरहेको छात्रवृति लगायतका अन्य सुविधाहरु अझै थप र ब्यबस्थित गर्नमा पहल गरिनेछ।
घ) नारी दिवश, नारी सम्बन्धि विभिन्न पर्वहरुमा नारी जागरण, ज्ञान शिप आदानप्रदान तथा अन्य विषेश कार्यक्रम आयोजना गरिने छ।
ङ) युवाहरुलाई लक्षित गरेर उच्च अध्ययन, खेलकुद, रोजगारीलगायत विभिन्न रचनात्मक क्रियाकलापको बारेमा योजना बनाउने र उचित कार्यान्वयन गरिने छ।
च) एनआरएनए जापान रनिङ फुटसल प्रतियोगितालाई निरन्तरता दिईने छ।
छ) क्षेसप, सरोकारवाला निकाय (अनेसास जापान, साहित्य चौतारी, विभिन्न नेपाली विद्यालय) सँगको सहकार्यमा विद्यार्थी केन्द्रित क्षमता अभिवृद्धि, रचनात्मक कार्यक्रमहरु संञ्चालन गरिने छ।
६) विभिन्न परोपकारी कार्य तथा जापानी समुदायसंगको सामिप्यता परस्परमा सम्पर्क सम्बन्धलाई प्रगाढ बनाई एनआरएनए जापानको गरिमालाई उँचो पार्दै जनस्तरमा नेपाली समुदायको आविभावकीय भूमिका प्रदान गर्ने गरि कार्य गरिनेछ।
क) जापान तथा नेपालमा भै-परि आउने घटना दुर्घटनामा पिडामा रहेकाहरुलाई सान्त्वनासहितको साथ सहयोग गर्नका लागि आवश्यकताका आधारमा अभियान सञ्चालन गरी सहयोग प्रदान गरिने छ।
ख) जापानमा रहँदा असामहिक निधन हुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको पार्थीव शरिर नेपाल घर परिवारसम्म लैजान राजदुतावासमार्फत आवश्यक पहल गर्दै नेपाल लैजान असम्भव रहेमा जापानमा अन्त्येष्टि गर्न आवश्यक सहजीकरण गरिने छ। परिवारको अवस्था र आवश्यकतालाई मध्यनजर राख्दै सञ्चालन हुने सहयोग अभियानमा संस्थाको तर्फबाट हाल दिँदै आएको ३० हजार येन सहयोगलाई निरन्तरता दिईने छ।
ग) जापानवासी नेपालीहरुका बिचमा देखिएका पछिल्ला दिनका समस्याहरुको समाधानमा आवश्यक सहजीकरण गर्दै विज्ञहरुको सहयोगमा त्यस्ता समस्या न्यूनीकरण गर्न चालिनु पर्ने कदमको बारेमा आवश्यक अध्ययन गरि सुझावका आधारमा अभियान सञ्चालन गरिने छ।
घ) जापानमा बालबालिका हुर्काइरहेका नेपाली अभिभावकहरुलाई जापानको शिक्षा प्रणाली, यहाँको अवसर र जापानमा बालबालिकाको हुर्काउँदाका चुनौति, बालबालिकाको स्वास्थ्य सेवा, विद्यालय बाहिर हुने अतिरिक्त क्रियाकलाप लगायतका बारेमा सचेतिकरण कार्यक्रम अन्तर्क्रिया गरिने छ।
ङ) जापानमा रहेका महिला तथा बालबालिका स्वास्थ्यको बारेमा सचेत रहन अभिप्रेरित गर्दै विशेषज्ञ स्वास्थ्यकर्मीको सहभागितामा स्वास्थ्य शिविर सञ्चालन गरिने छ।
च) ‘गैरआवासीय नेपाली संघ डे’का दिन नेपालमा रहेका मानव आश्रमको सहकार्यमा सडक मानवहरुलाई आवश्यक सहयोग गरिने छ। यस कार्यकालमा पश्चिम नेपालका जाजरकोट र पश्चिम रुकुममा भूकम्प प्रभावित बालबालिकाका लागि स्थापित शैक्षिक अक्षय कोष को आइसिसीसंगको समन्वय र सहकार्यमा प्रभावकारी कार्यान्वयन गरिने छ।
छ) जापानी जनतासँगको साँस्कृतिक र सामाजिक सम्बन्ध अझ प्रगाढ बनाउन बहुसाँस्कृतिक कार्यक्रमहरूमा नेपाली समुदायको सक्रिय प्रतिनिधित्व सुनिश्चित गरिनेछ। यसका साथै, जापानी विद्यालय, संस्था तथा समुदायसँग साँस्कृतिक आदानप्रदान कार्यक्रम (Cultural Exchange Program) सञ्चालन गरिनेछ। नेपाली भाषा र संस्कृतिलाई जापानी समाजमा चिनाउनका लागि विशेष अभियान पनि अगाडि बढाइनेछ।
ज) जापानमा विपद् व्यवस्थापन तथा समाजसेवामा नेपाली समुदायको सक्रिय सहभागिता सुनिश्चित गरिनेछ। भूकम्प तथा बाढी लगायतका प्राकृतिक विपद्को समयमा एनआरएनएको सहयोगी भूमिका विस्तार गरिनेछ। यसका अतिरिक्त, रक्तदान, सरसफाई तथा वृक्षारोपणजस्ता सामाजिक कार्यमा नेपालीहरुको सहभागिता बढाइनेछ। जापानी समाजले प्रत्यक्ष अनुभव गर्न सक्ने गरी ‘नेपाली स्वयंसेवक दिवस’ (Nepali Volunteer’s Day) जस्ता सकारात्मक कार्यक्रमहरु पनि सञ्चालन गरिनेछ।
झ) जापानमा क्रियाशिल नेपाली सञ्चारमाध्यमहरु, सामाजिक संजालका ग्रुप तथा पेजहरुसंगको सहकार्यमा जापानबासी नेपालीहरुका लागि आवश्यक सूचना तथा जानकारीहरु सम्प्रेषणका लागि पहल तथा समन्वय गरिनेछ। जापानमा रहेका नेपाली युवा पुस्तामाझ लोकप्रिय कन्टेन्ट क्रियसन जनरालाई थप व्यवस्थित, नियमसंगत तथा प्रभावकारी बनाउन आवश्यक कदम चालिनेछ।
यसका साथसाथै, एनआरएनएलाई सबै नेपालीले “हाम्रो र राम्रो” भन्ने महशुस गर्न सकून् भन्ने मेरो उद्देश्य रहनेछ। निर्वाचित भएपछि हाम्रो युवा पुस्तालाई मातृभूमिसँग जोड्ने अभियानलाई केन्द्रमा राखेर एनआरएनएलाई सबल, सक्षम, पारदर्शी एवं सशक्त बनाउने उद्देश्य प्राप्तिका लागि म मैदानमा निरन्तर खटिरहनेछु।
विगतका कार्यकाल सफलतामा साथ र सहयोगप्रति नमन र आभार सहित, संस्थागत विकास र जवाफदेही नेतृत्वको संकल्प र प्रतिवद्दता सहित अध्यक्षमा मैले दाबी गर्नु उचित र आवश्यकता अनुरुप नै हो भन्ने मेरो दाबी छ।
संस्थालाई नेपाली समुदायप्रति उत्तरदायी भै अभिभावकीय भूमिका प्रदान गर्न, सस्थाको सौन्दर्य विधि पद्धति र आर्थिक अनुशासन हो भन्ने मान्यतालाई स्थापित गराउन आउनुहोस सबै मिलेर एक सुन्दर समाज निर्माणमा हातेमालो गरौं।
मेरो उम्मेदवारी फगत पद र प्रतिष्ठाको लागि मात्र नभएर एनआरएनएको संस्थागत सुदृढीकरण, गैरआवासीय नेपालीका हकहित अधिकार, ज्ञान, सीप र प्रविधिसहितको एनआरएन जापान “दुःखमा पनि एनआरएनए सुखमा पनि एनआरएनए” अनि “मेरो नजिकको साथी एनआरएनए” भन्ने मान्यता स्थापित गराउन, नेपाल एवं नेपाली पर्यटन प्रवर्दन, युवा, महिला तथा दोस्रो पुस्ता, अन्तर्राष्ट्रिय संघ-संस्थासँग सहकार्यलाई उच्च प्राथमिकता दिदै वैदेशिक रोजगारीकलाई सुरक्षित बनाउन सरकार, कर्मभूमिस्थित कूटनीतिक नियोग, नेपाली राजदूतावास लगायतसँग सहकार्य गर्न र अन्तर्राष्ट्रिय श्रमबजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न सरकारसँग सहकार्यका लागि हुने भएकोले यहाँहरुको मन सहित मत दिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु।
जापान भरका सम्पूर्ण नेपालीहरु, अग्रज अभियन्ता, पत्रकारज्यूहरु, दाजुभाई, दिदीबहिनी, साथीभाई लगायत सम्पूर्णमा गैरआवासीय नेपाली संघ राष्टिय समन्वय परिषद् जापानको अध्यक्ष पदमा मलाई अमूल्य मत दिएर विजयी गराउनु हुन विनम्र अनुरोध गर्दछु। हजुरको सल्लाह, सुझाब र सहयोगको अपेक्षा सहित यस सामाजिक सेवामा अध्यक्षको पदीय जिम्मेवारी सम्हाल्ने सौभाग्य प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु। अध्यक्षमा निर्वाचित भएपछि म सदैव तपाईंहरुको साथमा हुनेछु।
तपाईहरुकै,
सुभाष लामिछाने
अध्यक्ष पदको उम्मेदवार (२०२५-२७ कार्यकाल)
हाल, उपाध्यक्ष (२०२३-२५ कार्यकाल)