लेखक: सुवर्ण सुुष्मा देवकोटा
“ह्वाई आर यू फलोईङ मि” ?
“यसमा तिमीलाई के आपत्ती ?” मैले किबोर्डका अक्षरहरुलाई जति सक्दो छिटो उसको ईन्बक्स तिर धकेल्ने केशिष गरेँ ।
“कति बर्ष भयौ तिमी” ?
उसको प्रश्नले मुस्कुराएँ म र उसैलाइ सोधें “मैले तिमिलाई गरेको तिमी संबोधनले उमेरको प्रश्न आयो है ?, अचम्म छ, तिमी भन्दा १०–१५ बर्ष जेठो भएकै कारण विना अनुमती सजिलै तिमी भन्न सक्छौ, म त झन् तिम्रै भाषामा भन्दा तिमीलाई फलो गरिरहेको मान्छे, जति सक्दो निकटता चाहन्छु, किन तपाँईं भनुँ ?’
उसले स्माईली ईमोजी पठाउँदै भन्यो “बढो फूर्सदमा रहिछेउ ।”
किन तिमीसंग कुरा गर्न खोजिरहेछु यस कारण ? यो नसम्झ तिमी बराबर वाक्याश्त्र चलाउन नसक्ने अरु कोही नपाएर गफ गर्न खोजिरहेछु म । खुसी होउ, तिमी मेरो नजरमा पर्न सफल भयौ, यो खाले हिरोजम अरु केटीलाई देखाउ, म फरक मात्र होईन पृथकमा पर्छु, तिम्रो भाषामा भन्दा ओभर ट्यालेण्ट, सुपर युनिक आदि ईत्यादी ।
फेरी आयो डाउन कास्ट फेसबाला स्माई ईमोजी र संगै आयो “बाँचि बसे देख्न पाईँदो रहेछ गज्जवका क्यारेक्टर ”
“सहि भन्यौ । किनकी तिमी जस्तो अजिव क्यारेक्टरलाई सुन्न र पढ्न खोज्दैछु । ट्युनिङ्ग नमिलेको गीतार जस्तो बेसुरा मान्छे ।” मैले यो पटक दुई हात जोडेका एकजोडी नमस्ते स्टिकर पठाएँ ।
“महत्वपूर्ण र ईन्ट्रेस्टिङ पुस्तक पढ्दै छेउ तिमी” उसको यो पटकको म्यासेजमा कुनै ईमोजी त आएन टाँस्सिएर, तर उ जिस्केकै हो भन्ने अनुमान लगाउन सक्थें म ।
“सुरु त गरें तर अहिले सम्म उति खाष लाग्ने केही भेटेको छैन ।” यो पटक मैले सांकेतिक खुसी दर्साउन बिमिङ फेसमा मुस्कुराई रहेका आँखाहरु पनि पठाएँ ।
“हुन सक्छ तिम्रो पठन क्षमता कमजोर छ ।”
यो पनि हुन सक्छ मैले छनौट गरेको पुस्तक नै कमजोर छ जस भित्रका कथामा पाठकलाई तान्न सक्ने क्षमता छैन ।
“त्यो त प्रमाणित भै सक्यो, तिमीले यो पुस्तक पढ्न रहर गरेको त धेरै पहिले हो तर अझै पनि प्राप्त गर्न सकेकी छैनौ ।”
केटो आज गफ्फिीने मुडमा नै जस्तो छ, गहिरो चित्रकार न पर्यो, रंगीन अन्दाजमा दुई चार प्याक रक्सि पिएको बेला परेर पो निउँ खोज्न आईरहेको हो कि ? आशंकै विचमा पनि मैले लेखें, तिमिलाई त्यस्तो लागेको मात्रै हो, पुस्तक प्राप्त भै सक्योे मलाई ।
“पेस गर प्रमाण” उसको प्रश्न छोटो आयो ।
यस प्रकारका सबुत र दस्तावेज पेस गर्ने अदालत बन्न बाँकि नै छ मायावी दुनियाँमा । जहाँ उत्कृष्ट चिन्तनयुक्त पुस्तकका बारेमा खुल्ला बहस् हुन सकोस् र अभिव्यक्त हुन सकोस् सत्य । तै पनि जवाफ नै सुन्न चाहन्छौ भने बलियो प्रमाण त यहि हो की, तिमी यतिबेला म संग मुस्कुराएर गफ गरिरहेछौं त्यो पनि मेरो मन राख्न होईन आँफैं फुर्की फुर्की ।
“के रे, बाईयात कुरा तिमीसंग म जत्तिको मान्छे फुर्कि हाल्नुपर्ने के छ र ? फोटोमा हेर्दा त खुव सोझी देखिन्छेउ तर तिम्रो दिमाग बक्रि अवस्थामा रहेछ, त्यहि भएर तिमिलाई बाँग्गो बाँग्गो कुरा गर्ने साथी चाहिएको ।”
“भनेपछि मेरो दिमागी बक्रचाल सम्म तिम्रो अन्दाज छ ? पुरुष जो परेउ, जति नै झुट बोलेपनि मेरो बारेमा तिमीलाई चासो खुब छ ।”
“तिमी त्यति गहिरो पनि छैनौ जसलाई जान्न चासै राख्नु परोस् ।” रुखो जवाफ आयो एकलकाटेको ।
झोकै चलेर लेखें, “त्यति सतहि पनि छैन म, जो तिम्रो तर्कले पहिल्याउन सकोस् र तिम्रो घमण्डले पौंठेजोरी खेल्न सकोस् ।”
सुनेर उसले लामो हाँसो सहित लेख्यो “पृथ्विलोकमा तिमी जस्तै असन्तुलित उर्जाको कारण होला है विनासकारी भूकम्प आउने । ”
“होईन नि, तिमीजस्ता सन्तुलित हुँ भन्ने भ्रम पाल्दै मौका पाए बहकिने मान्छेका कारण हो धर्तिमा महा प्रलय हुने ।”
“उमेर न सुमेरको गफ, संस्कार बढिया पाएकी रहिछेउ ।” उसले दिलै दुखोस् भनेर हेपेको त होईन तर मै हुँ पाराको सस्तो जवाफ दियो ।
अघि देखि रमाईरहेको मेरो मनलाई एकाएक झनक्क रिस उठ्यो । अब मलाई सोचे जति बौद्धिक पनि लागेन उ, कस्तो सतही जवाफ दिएको । उसै पनि मलाई शिलशिला नमिलेका गफ झुर लाग्छन् । त्यसमाथि उ त बौद्धिकता भन्दा पनि माथिको पुरुष स्वभाव जान्न रोझेको मान्छे मैले । गफै सहि कमसेकम कविता र गीत जस्ता मिठा मिठा हुन् संवाद । बरु पुरुषका शिर्ष सवालको जवाफ दिन हम्मे हम्मे परोस् मलाई र सोच्न सकुँ म उसको प्रकृतिका बारेमा । नत्र त गहिरा गफ गर्न कवि र लेखक साथिभाई नै प्रसस्त छन् मेरा, उसलाई किन रोज्नु पर्यो मैले ? यस्तो बेला मेरो मन र मस्तिष्क खुब चल्छ । बात यहिँ रोकिदिन नि सक्छु म मेरो चैतन्यले निर्देश गर्यो भने ।
केहि बेर सोचेर लेखें “कमसेकम यत्तिको एटिट्युड देखाउने मान्छेले यति कमजोर जवाफ नदिएको भए हुने । शाब्दिक होस् या सास्वत, तिम्रा भन्दा बलिया सवाल, जवाफ छन् मसंग । त्यसैले यात्रा लामो चाहन्छौ भने सोचेर बोल्ने आदत पार्दै जानु तिमीले, किनकी मेरो उमेर कच्चा देखेर कम आँक्ने भुल गरेउ भने तिमिले जीवनमा नै पहिलो पटक भेटेको बच्चा जस्तो, सच्चा मान्छे पनि गुम्ला ।” मैले गहिरो जवाफमा जोडेर पठाएँ मेरो बलियो सिधान्त र एंग्रीवाला ईमोजी । यति गरेर अफलाईन भै दिएँ ।
मेरो अभिमानमा धक्का पुगेको हो कि स्वाभिमानमा कुन्नी, एक मन त उसलाई अनफ्रेण्ड नै गरिदिउँ जस्तो नि लाग्यो । म एक्लै मुस्कुराएँ, धन्य यो मन भन्ने चिज । मन आफ्नो, चित्त आफ्नो तर खुसी हुने र दुख्ने संधै अर्काको कारण । मलाई उ संग कुरा गर्नै मन लागेन त्यसपछि । उसैपनि रातिको ११:५६ भै सकेको थियो, सुत्ने बाहाना जो चाहिएको थियो, उसलाई पनि परोस् न मैले दिएको जवाफ चित्त नबुझाएर गै, केटि कडा रैछे भन्ने ।
बिहान उठ्नासाथ फेसबुक अन गरें । च्याट बक्सको तेस्रो स्थानमा रहेको उसको म्यासेज देखेर मन मनै खुशि त भएँ तर केहिबेर नखोल्ने निर्णय गरें । स्त्रि मन पनि गज्जबको रहस्य रहेछ, आफैंलाई हेरेर जानेको कुरा । उसका तर्फबाट अनसिन देखाएपनि मैले लाष्ट लाईन सिन गरें । भनिहाँले, केटी मन त हो, त्यसमाथि आफैंले फलो गरेको देशको चर्चित चित्रकार, गफ गर्न मन लाग्यो फेरी ।
म्यासेज खोलेर हेरें, हिजो उ निदाउनु अघिको । म अफलाईन भै सके, थाहा नपाएर लेखेको म्यासेज “उफ् मान्छेका धक्की” उसले मुस्कान सहितको सवाल पठाएको रहेछ, कहाँ र कति सम्मको सामिप्यता चाहन्छेउ तिमी ?
जवाफ किन ढिला ? डर लाग्यो उसले यो पटक टाँसेर पठाएको ईमोजी फेसका निर्जिव आँखाबाट हाँस्दा हाँस्दै आँसु झरेको थियो ।मेरो जवाफ नआएपछि उसले १२:२३ मा अन्तिम म्यासेज छोडेको रहेछ , “तिमी कमजोर सिपाही त होईनौं तर सर्व शक्तिमान हुनु छ र यो युक्त कुशलतापूर्वक जित्नु छ भने आफ्ना अस्त्रको तागत बुझेर मात्र रणभुमिमा उत्रनु ।”
म अलमलिएँ एकछिन, उसको पहिलो प्रश्नबाट कुराकानीलाई अघि बढाउँ या अन्तिम । सजिलो त पहिलो प्रश्नको जवाफ नदिनु मै थियो । त्यसैले लेखें “तिमी आफु परास्थ हुने डरले यो सब भनिरहेछौ या मलाई परास्थ गर्ने कुटिल चाल ? म पूर्ण तयारीका साथ तिमिसंगको टकराव आह्वान गरिरहेछु ।”
जवाफ आयो, “तिमिले मेरो पहिलो प्रश्नको जवाफ दिईनौं कहाँ र कति सम्मको सामिप्यता चाहन्छेउ तिमी ?”
मलाई असजिलो पार्न जानी जानी हिजोकै म्यासेजलाई ईंकित गरेपछि यो पटक फेरी अर्को अलमलाहट भयो, “साँच्चै कहाँ र कति सम्मको सामिप्यता चाहन्छु म उसंग ? यद्यपी विना योजनामै पनि मैले बलियो जवाफ दिन सकें मैले “तिमिबाट पूर्ण पुरुष जान्न र महसुष गर्न चाहेँ भने ?”
“त्यसका लागि म संग बैचारिक आत्मियता मात्र होईन शारिरिक सामिप्यता पनि राख्नु पर्ने हुन्छ तिमिले । मन्जुर छ तिमिलाई ?”
केटोको सिधा प्रश्नले जटिल अवस्था आईलाग्यो मलाई, आफुलाई त कुनै दर्शन पक्डेर गफ गर्ने साथी मात्रै चाहिएको हो, जो संग भेट्टिनु र साट्टिनु नै छैन मलाई, म उर्जादर्शी संवाद शक्ति र कला दुवैमा कुशल व्यक्तिसंग एक हदमा प्रभावित पनि रहन्छु चाहे त्यो पुरुष होस् या स्त्रि ।
तर यत्तिको बौद्धिकता देखाईसकेपछि यो प्रश्नलाई पनि सामान्य लिन सक्नै पथ्र्यो मैले । उसै त मेरो कम उमेरलाई सिमाना बनाएर म संगका संवादमा मन भन्दा दिमाग चलाईरहेको छ केटोले,
“भनेपछि तिमी आत्मागत सम्बन्ध बुझ्न शरिरको सहारा लिन्छौं ? यसो गर पहिले तनको सम्बन्ध बुझ्न आत्माको मद्यत लिन सिक, त्यसमा तिमी पास भयौ भने तिमिले मलाई पायौ ।” मैले मोनोकल स्टिकलर सहित डिप्लोम्याटिक जवाफ दिएँ यो पटक ।
मेरो जवाफमा एकछिन उसको प्रतिकृया आएन, ढिलो आयो कडा आयो जसरी पाँच मिनेट पछि आएको म्यासेज यस्तो थियो,
“जसरी र जताबाट कुरा घुमाउन खोजेपनि तिमी पुरुष संगको शारिरिक सम्बन्धलाई आम केटि जसरी नै संकोच र गर्व दुवै रुपमा सोच्दछेउ । ज्यादा स्माट बन्न नखोज तिमी मलाई बोलेर जित्न कै लागि मात्र यो सर्त मानिरहेकी छौ । नत्र तिमीलाई सकेसम्म पुरुषसंग हात मिलाउनु पनि छैन, तिमी त्यसै यत्तिको सामथ्र्यवान भएकी होईनौं, तिमी मन मात्र होईन शरिर बशिकरणको मामिला पनि स्पष्ट स्त्रि हौ । यति त तिम्रो कलात्मक ह्रदय र तर्कशिल दिमाग देखेर थाहा पाईसकें मैले । त्यसैले बेकारमा तिम्रा कुरामा लागेर समय खेर फाल्नु छैन मलाई र ज्यादा डिस्ट्रव पनि नगर म चित्रकार हुँ, तिमिले खत्रै होला भनेर फलो गरेपनि मेरो रोजीरोटी तिमीसंग बात मारेर होईन अर्डरमा आएका पेन्टिङ्ग समयमा बुझाउन सके मात्र चल्छ ।” सत्य भनुँ त अदृश्य लोकको चित्र उतार्ने चित्रकारलाई तिम्रोबारे कल्पना गर्ने अलिकती पनि फुर्सद छैन र प्रेम विना कल्पना अटित हुन सक्दैन ।
केटो वाक्य अघि नै सेन्स पकड्न सक्छ भन्ने थाहा भयो । सनातनको सफल प्रयोग भित्र पर्दछ यो कला । जो व्यक्तिले शब्द भन्दा छिटो आषय पकड्न सक्छ, त्यस्तो व्यक्ती सेन्समा स्वतह आध्यात्मिकता हुन्छ र हेक्का राख्ने हो भने यस्त व्यक्तिले बोलेका अधिकांस कुरा सत्य हुन्छ । त्यसैले यस्ता मान्छे अति सेन्सेटिभ पनि हुन्छन् । बोल्दा बढो हेक्का राख्नुपर्ने हुन्छ सत्य बुझेर संवेदनशिल बनेका मान्छेसंग । नत्र उ झन म भन्दा सन्की निस्कन सक्छ, कुरा उसको अपेक्षा अनुसार नआए यस्ता मान्छेले सिधै फेसबुकमा बल्क हान्दिने संभावना पनि रहन्छ ।
त्यसैले गहिराई भन्दा पनि परको जवाफ दिदैं गर्दा समेत सतह मिलाउन कन्फ्युज्ड फेस ईमोजी जोडेरै लेखे. “तिमीले आफुनो पुरुषत्वमाथि शंका गरेको कि मेरो स्त्रि सामथ्र्यको तारिफ ? यसरी भन्यौ जस्तो कि मेरो जवाफ अश्वत्थामा हत ईति नरो वा कुंजरो वा शैलीको भयो । ”
उसका तर्फबाट एक जोडी उज्याला रोलिङ्ग आँखा सहितको प्रतिप्रश्न आयो, गज्जव, भनेपछि महाभारतको पनि ज्ञान छ तिमीलाई ? यो समय तिमि स्वयं आफ्नै मन, मस्तिस्क, आत्मा, चेतना र एक अनित्य चाहतको महाभारत चलिरहेको समयमा छौ, कमसेकम यो युद्ध त समाप्त गरेर आउ । नत्र तिमि भित्रको सत्यको आगो थेग्न मलाई गाह्रो पर्न सक्छ ।
“आहा मिठो जवाफ दियौ, सोच्दै पनि छु यसैगरी वार्ता सुमधुर हुँदै गए तिम्रो आदत पर्न सक्छ मलाई ।”
“यति छिटै म संगको प्रेमको कल्पना समेत गरिदिई पो सकेको ?” उसले कमेडी शैलीको नाच्दै गरेको फुच्चेवाला स्टिकर गिफ्ट सहित पठायो ।
“आदात पर्न सक्ने संभावनाको कुरा गरेको प्रेम पर्न सक्ने होईन । ज्यादा नफुर्क ।” यति भनेरै पनि मैले रिभोल्भिङ्ग लयमा घुम्दै गरेका दुई मुटु पनि पठाएँ । त्यसैले उसले ईमोजी आषय नै पक्डिएर सायद लामै म्यासेज लेख्यो ।
“आदत पर्न सक्छ कि भनेर आफैं माथि शंका उठ्नु, उ तिम्रो दिमागमा प्रवेश गरिसक्यो अब मनसम्म आउँछ र चाहत जन्माउँछ, मन पर्न थाल्छ, मन परेको मान्छेसंगको आदत बाक्लो हुँदै जाँदा, मायाँ बस्छ, मायाले जव सर्त र स्वार्थको सम्बन्ध पार गर्छ तव प्रेम जन्मन्छ ।
सोच राम्रोसंग, तिमी एक दिन पक्का मेरो त्यो प्रेममा पर्ने वाला छेउ र मेरो यादमा रुनेवाला पनि । त्यो दिन तन, मन, र आत्माका सवाल जवाफमा तिमी हारिदिन पनि तयार हुन सक्छेउ, किनकी तिमी स्त्रि प्रकृती हौ, जसको करुणा प्रेमले पग्लन्छ । भन, तयार छौ यत्तिको घमण्ड त्याग गरेर कुनै एक पुरुषको ईसारमामा नाच्न ? ”
जवाफ लेख्दै थिएँ झ्याप्प बत्ती गयो, बत्तीसंगै वाईफाई नेट पनि । एक पटक कुलमान घिसिङ्गलाई पनि सम्झएँ, घिसिङ्गसंगै यो देशको अदुरदर्शी सरकारलाई पनि सम्झिएँ, फजुल बादविवाद प्रतियोगितामा सहभागी भिडहरुको पनि याद आयो । उसको त याद नआउने कुरै भएन । डाटा नै तानेर गफ गर्नु पनि छैन तर केटोले गरेको ईसारामा नाच्ने सर्त मान्न तयार नभएपनि उत्सुकता भने भै रहेछ मुसाफिर अदाको रुखो चित्रकारसंगको बाँकि गफको शिलशिलाका कस्तो होला र कहाँसम्म पुग्ला हामी विचको सम्बन्ध ? एकै रातको गफमा यति नजिक उ जत्तिको बहु दुरदर्शी अन्दाजको केटा विना कारण भयो होला त ? फेरी चल्यो दिमाग अनि मन । नजाने गाउँको पनि बाटो सोध्ने जात मनले एक पटक हावादारी अनुमान नि लगाउन भ्याई छाड्यो । कतै उसले मै जस्तो केटि नभेटेर पो ४५ बर्ष कटिसक्दा नि विवाह नगरी बसेको हो कि ?